काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।
पछिल्लो अद्यावधिक विवरणअनुसार रसुवाका मुख्य राजमार्गका सबै सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
धादिङको धुनिबेँसी नगरपालिका–९ खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी रूपमा सञ्चालनमा छ । यस्तै, गजुरी गाउँपालिका–५ गलौंदीमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेमा बाढीका कारण बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न सकेका छैनन् ।
यसैगरी, बेँसीसहर हुँदै खाङसार जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ । भेरी करिडोर सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
यता, पहिरोका कारण कालीगण्डकी करिडोरको अर्को सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बालुवासंग्रहीमा पहिरो खसेपछि बालुवासंग्रही सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण सडक आवागमन प्रभावित भइरहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ ।
