चाँगुनारायणमा सहकारी सदस्यलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण

चाँगुनारायणमा सहकारी सदस्यलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • चाँगुनारायणमा सहकारी सदस्यलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले  सहकारी सदस्यलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ । २६ औ भूकम्प सुरक्षा दिवसको अवसर पारेर नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय सहकारीसंगको सहकार्यमा भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।

    “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ।” भन्ने नाराकासाथ मंगलवार देशभर विविध गतिविधि संचालन गरी २६औँ भूकम्प सुरक्षा दिवस मनाइएको थियो । त्यसै क्रममा चाँगुुनारायण नगरपालिकाले फरक ढंगले कार्यक्रम गरेको हो । सो क्रममा नगरपालिकाले चाँगुनारायण – ९ स्थित देवी महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई देवी मा.बिमा तथा वडा नं ८ को महिला जागरण बहुउद्धेश्यीय सहकारी संस्थाका सदस्यलाई ठुली ब्रम्हायणी आधारभूत विद्यालयमा अभिमुखिकरण संचालन गरेको थियो ।

    देवी माविमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा कार्यपालिका सदस्य कमला गिरीले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी गर्दै आएको बताउदै आगामी बर्षको बजेटमा विपद् व्यवस्थापनको लागि थप बजेट तथा कार्यक्रम समावेश गर्न पहल गर्ने बताइन् ।  सहकारीका सदस्यहरुले भवन संहिता बमोजिम संरचना निर्माण, प्राथमिक उपचार खोज तथा उद्धारका प्रशिक्षण संचालन गरी समुदायमा प्रथम उद्धारकर्ता तयार, विपद् कोष स्थापना, आवश्यक उद्धार सामग्री व्यवस्थापन तथा समयसमय विपद्को अवस्थामा गरिने प्रतिकार्यको अभ्यास गर्न सकेमा भूकम्प जस्तो विपद्बाट समुदाय सुरक्षित राख्न सकिने गिरीको भनाई थियो । 

    अभिमुखिकरणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनमा गरेका कार्यको बारेमा जानकारी, भूकम्प र यसको कारण, भूकम्पीय सुरक्षाका उपायहरु, २०७२ साल तथा जाजरकोट भूकम्पले भएको क्षति तथा पारिवारीक र सामुदायिक रुपमा गर्नुपर्ने पूर्वतयारीका बारेमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रमका  सहभागिले सहकारीले पनि वडा तथा नगरपालिकासंग समन्वय र सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका कार्यहरुमा हातेमालो गर्दै त्यसका लागि केही बजेट छुट्याउनुपर्ने बताएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij