मनाङ आउने पर्यटकको पहिलो रोजाइमा पर्दै ताचै होमस्टे

मनाङ आउने पर्यटकको पहिलो रोजाइमा पर्दै ताचै होमस्टे

शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • मनाङ आउने पर्यटकको पहिलो रोजाइमा पर्दै ताचै होमस्टे
    मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास ९होमस्टे० रोजाइमा पर्ने गरेका छन् । सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासों गाउँपालिका–८ स्थित ताचै घरबासले बसाइ सस्तो हुनुका साथै स्थानीय उत्पादनको खानाले पर्यटकलाई आकर्षित गर्दै आएको छ । 
     
    यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीयरुपमा उत्पादित वस्तु खान दिने गरिएको नासों–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घले बताउँछन् । अधिकांश पाहुना सम्पर्क गरेर आउने गरेको बताउँदै अध्यक्ष घले भन्छन्, “यहाँ होमस्टेको अध्ययन गर्नकै लागि पनि पाहुना आउने गर्दछन्, होमस्टे सञ्चालनकै लागि अन्य होमस्टेबाट अध्ययनमा समेत आउने गर्नुहुुन्छ, यसले हामीलाई प्रोत्साहन मिलेको छ ।” 
     
    यहाँका स्थानीय पाहुनालाई जैविक खानेकुरा खुवाउनका लागि कृषिकर्ममा जोडिएका छन् । अहिले ताचैगाउँमा गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै र कुलु बोडी लगाउने तथा गोडिरहने काम गर्दै गरेको अवस्थामा यहाँका स्थानीय भेटिन्छन् । यहाँको संस्कार र संस्कृतिले पनि पर्यटक तथा पाहुनालाई लोभ्याउने गरेको अध्यक्ष घलेको भनाई छ । 
     
    घरबासका सदस्य शारदा गुरुङका अनुसार, यहाँ तयार गरिने खाधान्नमध्ये चामलबाहेक सबै स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने गरिएको छ । होमस्टेले महिलाका साथै गाउँलेलाई आयस्रोतसँग जोडेको गुरुङको भनाई छ । गाउँका अधिकांश घरमा होमस्टे रहेको बताउँदै गुरुङले यहाँको खाद्यान्नले पर्यटक तथा पाहुनालाई आकर्षित गरेको बताइन । 
     
    ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । बोन धार्मावलम्बी यहाँका स्थानीयले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पाहुनालाई स्वागत गर्ने गर्दछन् । त्यो बाहिरबाट जानेहरुका लागि बिल्कुल नयाँ हुन जान्छ । त्यसैले त यहाँका घरबास विदेशी पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । त्यति मात्र नभएर यहाँको स्थानीय संस्कृति अध्ययनका लागि पनि विदेशी पर्यटक आउने गर्दछन् । 
     
    पाहुनालाई स्वागतका साथै यहाँका लोकसंस्कृति, नाचगानसँगै स्वास्थ्यकर खाना खुुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलुलगायतका खाना मन पराउने गरेको गुरुङको भनाई छ । उनीहरुको माग स्थानीय उत्पादन हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । यहाँका २६ घरधुरी घरबास सञ्चालनमा रहेको निवर्तमान वडाध्यक्ष एवं समाजसेवी हुपजङ्ग गुरुङले जानकारी दिए ।
     
    उनका अनुसार करिब एक सयदेखि एक सय ५० जनासम्म घरबासले एकपटकमा पाहुना राख्न सक्ने क्षमता छ । यसका साथै छोङ्रुपी झरनाले पनि यहाँको घरबासलाई थप आकर्षक बनाएको छ । घरबास माथिबाट आएको झरनाले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij