काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकखण्डमा यातायात प्रभावित भएको हो ।
प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । बाढीका कारण अवरुद्ध सडक अर्को सूचना नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ ।
त्यस्तै, मनाङको बेंसीसहर–खाङ्सार सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाट र बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा सडक एकतर्फी सञ्चालनमा छ । उक्त सडकखण्डमा ठूला सवारीसाधन भने आवतजावत गर्न नसक्ने अवस्था रहेको छ ।
यस्तै, हुम्लाको सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले प्रभावित सडकखण्डमा तत्काल यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
