नवलपरासी । नवलपरासी पूर्वको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
कोहलपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान करिब पौने ४ बजे विनयी त्रिवेणी गाउँपालिका–२, एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस चालकले नियन्त्रण गुमाएपछि सडकबाट नालामा खसेर पल्टिएको थियो । बसमा चालकसहित १८ जना सवार रहेकामा दुई जना भने सकुशल छन् ।
दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी छ ।
घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बसमा सवार यात्रुको उद्धार गरी घाइतेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ ।