काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।
काठमाडौं उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द छन् । सडकमा बाढी तथा पहिरोले क्षति पुर्याएपछि यातायात सञ्चालन हुन सकेको छैन ।
गण्डकी प्रदेशमा पनि विभिन्न सडकखण्ड बाढी र पहिरोका कारण प्रभावित भएका छन् । मनाङको बेंसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ ।
नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
यस्तै, कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।
सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेका छन् ।
