काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २० भन्दा बढी सहकारी संस्था तथा तिनमा समाहित संस्थाहरूको नाममा दर्ता रहेका सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ ।
बबरमहलस्थित समितिको कार्यालयले सूचना जारी गर्दै सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारी तथा ती सहकारीले लगानी वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा समितिको कार्यालयमा बुझाउन भनेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएको छ ।
समितिका अनुसार तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कारबाही गरिनेछ । सवारी साधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता, लकर तथा राहदानीसमेत रोक्का राखी प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।
समितिले सवारी साधन बुझाउनुपर्ने सहकारीको सूचीसमेत सार्वजनिक गरेको छ । सूचीमा स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लु:निभा बहुउद्देश्यीय सहकारी, ओरिएन्टल को-अपरेटिभ, कन्ज्युमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी र हाम्रो नयाँ कृषि सहकारी रहेका छन् ।
त्यस्तै कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका नाममा रहेका सवारी साधन पनि बुझाउन भनिएको छ ।
आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समाहित भएका घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आईडल यमुना बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका नाममा रहेका सवारी साधनसमेत समितिलाई बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
समितिले सवारी साधन जुन अवस्थामा रहेको भए पनि तत्काल कार्यालयमा ल्याएर बुझाउन आग्रह गरेको छ । यससम्बन्धी थप विवरण समितिको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ ।
