दोधारा-चाँदनीलाई मुलुकसँग जोड्ने झोलुंगेपुल भत्कियो

दोधारा-चाँदनीलाई मुलुकसँग जोड्ने झोलुंगेपुल भत्कियो

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • दोधारा-चाँदनीलाई मुलुकसँग जोड्ने झोलुंगेपुल भत्कियो

    कञ्चनपुरको दोधारा-चाँदनीलाई भीमदत्तनगरसँग जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल भत्किएपछि आवागमन बन्द भएको छ। पुल भत्किएपछि महाकालीपारीसँगको सम्पर्क विच्छेद भएको छ । 

    स्थानीयको दैनिक आवागमन प्रभावित मात्रै भएको छैन, पुल भत्किदा दोधारा चाँदनीका जनता आफ्नै देशमा आउन नसक्ने भएका छन् । महाकाली नदीमाथि बनेको यो पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि मुख्य आवागमनको माध्यम रहँदै आएको थियो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार यो पुल नेपालकै सबैभन्दा लामो झोलुंगे पुलमध्ये एक हो जस्ले दोधारा तथा चाँदनी क्षेत्रलाई जोड्छ।

    पुल बनेपछि बदलिएको थियो दोधारा-चाँदनीको जीवन

    यो झोलुंगे पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, दोधारा-चाँदनीलाई नेपालको मूल भूभागसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको थियो।

    २०५८ सालमा महाकाली नदीमा करिब डेढ किलोमिटर लामो झोलुंगे पुल बनेपछि दोधारा–चाँदनीका बासिन्दाको महेन्द्रनगरलगायत नेपालको अन्य भूभागसँग सहज आवागमन सुरु भएको थियो। पुल बन्नुअघि यहाँका बासिन्दा किनमेल, उपचार र रोजगारीका लागि समेत भारततर्फ बढी निर्भर हुन बाध्य थिए । 


    पहिलेदेखि नै जीर्ण थियो पुल

    पुल भत्किनुअघि नै यसको अवस्थाबारे पटक-पटक प्रश्न उठ्दै आएको थियो। केही महिनाअघि गरिएको रिपोर्टिङमा पुलका नटबोल्ट र प्लेटहरू टुटेको, फलामे डोरीमा समस्या देखिएको तथा जाली च्यातिएको उल्लेख थियो।  मर्मत नभए पुल जुनसुकै बेला जोखिमपूर्ण हुन सक्ने चेतावनी स्थानीयले दिएका थिए।

    यसअघि पुलमा नटबोल्ट र प्लेट मर्मतका लागि दैनिक केही घण्टा आवागमन बन्द गरेर मर्मतसमेत गरिएको थियो। प्रदेश सरकारले पुल मर्मतका लागि बजेट विनियोजन गरेको विवरण पनि सार्वजनिक भएको थियो। तर अहिले फेरि पुलमा ठूलो क्षति पुगेपछि मर्मत तथा संरक्षणको काम कति प्रभावकारी रूपमा भइरहेको थियो भन्ने प्रश्न उठेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij