म्याग्दी, १४ असोज । बाढीपहिरोबाट ठूलो क्षति भएपछि म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको विपद्मा सात जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
बाढीपहिरोले सडक, विद्युत्, खानेपानी, सिँचाइ, निजी आवास र कृषि क्षेत्रमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार जिल्लाका विभिन्न पालिकामा घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन्। क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ।
पहिरोले गाउँ घेरिएपछि अन्नपूर्ण गाउँपालिका-५ का विभिन्न बस्तीमा फसेका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी शिख र घारमा अस्थायी शिविरमा राखिएको छ।
विपद्पछि बेनीबाट अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध छन्। सदरमुकामबाहिरका क्षेत्रमा विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन् भने जिल्ला सदरमुकाम बेनीमै खानेपानीको समस्या देखिएको छ। उद्धार, राहत र क्षतिको विवरण सङ्कलन जारी छ।