काठमाडौँ, १३ असोज - सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलरबराबरको अनुदान स्वीकार गर्नेसहित ६ निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका थिए ।
मन्त्रिपरिषद्ले गरेका ६ निर्णय यस्ता छन्
१. स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने।
२. कमला-ढल्केबर–पथलैया सडकखण्ड तथा गर्जाङ खोला र बलेफी खोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने।
३. सशस्त्र प्रहरीका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने।
४. पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने।
५. संघीय निजामती सेवा तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुन संशोधन विधेयक अघि बढाउने।
६. दुई सहसचिवलाई सचिवमा बढुवा तथा विभिन्न प्रदेशमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने।
यसैवीच प्रवक्ता पोखरेलले रास्वपा सभापति रवि लामिछाने र सांसद अम्रेस कुमार सिंहलाई सरकारले सुराकी लगाईरहेको आरोपको खण्डन गरेका छन् । स्मरण रहोस् सरकारलाई यस्तो आरोप सत्तारुढ दलकै सांसद अम्रेस कुमार सिंहले लगाएका थिए ।