चित्रकलादेखि साइकल यात्रासम्म, बागमतीमा यसरी मनाइयो विश्व पर्यटन दिवस

चित्रकलादेखि साइकल यात्रासम्म, बागमतीमा यसरी मनाइयो विश्व पर्यटन दिवस

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • चित्रकलादेखि साइकल यात्रासम्म, बागमतीमा यसरी मनाइयो विश्व पर्यटन दिवस

    काठमाडौं — विश्व पर्यटन दिवस २०२६ को अवसरमा बागमती प्रदेश सरकारले कला, संस्कृति र पर्यटनलाई जोड्दै चित्रकला तथा फोटो प्रदर्शनी, अन्तक्र्रिया र साइकल यात्रा आयोजना गरेको छ।

    प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यालय काठमाडौंले आइतबार धुम्बाराहीस्थित स्मार्ट दरबार होटलमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटनको मुख्य आधार कला र संस्कृति रहेको बताए।

    उनले पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच सहकार्य आवश्यक रहेको बताउँदै स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्धनलाई अघि बढाउनुपर्ने बताए। काठमाडौं उपत्यकाको पर्यटन विकासमा स्थानीय कला र संस्कृतिलाई जोड्न सके पर्यटन दिगो र प्रभावकारी बन्ने उनको भनाइ थियो।

    प्रदर्शनीमा नेपाल र बागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन तथा पर्यावरण झल्काउने २० भन्दा बढी कलाकृति राखिएका थिए। एक्सप्लोर नेपाल नेटवर्क काठमाडौंको सहकार्यमा आयोजित प्रदर्शनीमा १५ कलाकार सहभागी थिए।

    मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले कला, संस्कृति र पर्यटन एकअर्कासँग जोडिएको क्षेत्र भएकाले नेपालको विविधतालाई पर्यटनमार्फत विश्वसामु चिनाउने गरी काम भइरहेको बताए। प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले प्रकृति, संस्कृति र कलालाई सँगसँगै अघि बढाएर पर्यटनको दिगो विकासमा जोड दिइएको बताए।

    कलाकार प्रकाश मिजारले विषम परिस्थितिका कारण पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम सकारात्मक पहल भएको बताए। कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कला प्रदर्शनीले पर्यटनप्रति जागरुकता बढाउनुका साथै नेपालको मौलिक पहिचानलाई विश्वमा चिनाउन सहयोग गर्ने बताए।

    विश्व पर्यटन दिवसकै अवसरमा पाटन दरबार क्षेत्रदेखि धुम्बाराहीसम्म साइकल यात्रा पनि गरिएको थियो। वल्र्ड साइकलिस्ट क्लब नेपालको सहकार्यमा भएको यात्रामा डेढ सयभन्दा बढीको सहभागिता थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij