बाढीले चार दिन बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि फेरि चल्दै

बाढीले चार दिन बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि फेरि चल्दै

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • बाढीले चार दिन बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि फेरि चल्दै

    वालिङ, १२ असोज — कालीगण्डकी नदीमा पानीको बहाव घटेसँगै कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले चार दिनपछि आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ।

    कालीगण्डकी–५ बेल्टारीस्थित आयोजनामा बाढीको बहाव उच्च भएपछि जोखिमबाट जोगिन विद्युत् उत्पादन बन्द गरिएको थियो। नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको आयोजना प्रमुख आत्मेस पौडेलले बताए।

    प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेकाले आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्न सकिने पौडेलले बताए। कालीगण्डकीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडिएको थियो।

    कालीगण्डकी ‘ए’ आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। लगातारको वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ। बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा सारिएको छ।

    यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत आइतबार बिहान कालीगण्डकीको बाढीले बगाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij