काठमाडौँ, ११ असोजः लगातारको वर्षापछि पहिरो खस्दा पृथ्वी राजमार्ग र कान्तिलोकपथका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ। धादिङको कृष्णभिर र तिङग्राङखानी तथा ललितपुरको कान्तिलोकपथमा पहिरो खसेपछि यात्रु जोखिममा परेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द छ। सोही गाउँपालिकाको वडा नं १० स्थित तिङग्राङखानीमा पनि पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। अन्य केही स्थानमा साना पहिरो खसे पनि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यता, काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। टिकाभैरवमा रुख ढलेर समेत सडक रोकिएको छ। कान्तिलोकपथको मकवानपुर खण्डमा भने यातायातमा अवरोध नरहेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले यी सडकमा यात्रा गर्दा थप जोखिम हुन सक्ने देखिएको छ। सडक खुलाउने काम र अवस्थाबारे सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेका छन्।