खुलो कान्ति लोकपथ, राती भने चलाउन नपाईने

खुलो कान्ति लोकपथ, राती भने चलाउन नपाईने

शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • खुलो कान्ति लोकपथ, राती भने चलाउन नपाईने

    ललितपुर, १० असोजः लगातारको वर्षापछि कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ। तर, पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा भने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

    कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो खसेपछि शुक्रबार दिनभर सडक अवरुद्ध भएको थियो। शनिबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएकोमा दिउँसोसम्म रोकिएका सबै सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको कान्ति लोकपथ आयोजनाका सुपरभाइजर दीपक घिमिरेले बताए।

    मौसमविद्ले आइतबारसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो। बिहीबारदेखि राति सवारी चलाउन रोक लगाइँदै आएकोमा शुक्रबार दिउँसोसमेत सडकमा सवारी सञ्चालन रोकिएको थियो।

    रातको समयमा पहिरोको जोखिम बढ्ने भएकाले काठमाडौँबाट आएका सवारीसाधनलाई टीकाभैरवबाट अगाडि जान रोकिएको छ भने मकवानपुरतर्फबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताए।

    कान्ति लोकपथका विभिन्न २७ स्थानलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। भैँसेखोलादेखि बगुवासम्मका विभिन्न स्थानमा पहिरोको जोखिम रहेको आयोजनाले जनाएको छ।

    बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङ्दुर, तामाखानी, काल्चे र माल्टा दोबाटोलगायत स्थानमा पहिरोको जोखिम बढी रहेको सुपरभाइजर घिमिरेले बताए। सडकमा पुनः अवरोध आए तत्काल पहिरो पन्छाउन स्काभेटर तयारी अवस्थामा राखिएको आयोजनाले जनाएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij