काठमाडौं । धादिङको कृष्णभीरमा खसेको पहिरो हटाएपछि नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएका छन् । पहिरो पन्छाएपछि हाल सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । पहिरोको जोखिमका कारण रातभर यातायात बन्द गरिएको थियो ।
दिउँसो साढे १२ बजेदेखि एकतर्फी रूपमा सवारी सञ्चालन गर्न थालिएकाे भएतापनि तत्काल दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न भने सम्भव छैन ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार सडकको भित्तातर्फ खसेको पहिरो हटाएपछि सवारी चल्ने अवस्था बनेको हो । पहिरोका कारण सडकछेउको गेबियन वालसमेत खसेको छ । तर मुख्य सडकको ट्र्याक जोगिएकाले तत्कालका लागि यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको आयोजनाले जनाएको छ ।
मुख्य ट्र्याकबाट करिब २ देखि ३ मिटर भाग अझै सुरक्षित रहेको र सडकमा ठूला धाँजा नदेखिएकाले सवारी सञ्चालन गरिएको हो । यद्यपि निरन्तर वर्षा भइरहे थप पहिरो खस्ने वा सडक भासिने जोखिम भने कायमै रहेको छ ।
यसैबीच, नागढुंगा–मुग्लिन सडकखण्डका अन्य सात स्थानमा खसेको पहिरो हटाउने काम पनि जारी छ । पानीधारा, धारापानी, जवां, जलविरे र रोराङलगायतका क्षेत्रमा हेभी मेसिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको आयोजनाले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा समेत कठिनाइ भइरहेको छ । सबै स्थानको पहिरो पूर्ण रूपमा हटाएपछि मात्र सडकमा नियमित र निर्बाध रूपमा यातायात सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । सोही डाइभर्सनमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको थियो । वर्षा र थप पहिरोको जोखिम रहेकाले उक्त सडक हुँदै यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।