चितवन, ९ असोजः अविरल वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड आज पनि बन्द छन्। बिहीबार साँझ ८ बजेदेखि अवरुद्ध दुवै सडकमा ठाउँठाउँमा ढुङ्गा र लेदोसहित पहिरो झरिरहेकाले पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको छ। सडकमा रोकिएका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई भने आज दिउँसो एकतर्फी रूपमा सडक खुलाएर पार गराइएको छ।
दुवै राजमार्ग अवरुद्ध भएपछि बिहीबारदेखि नै सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरो खस्ने जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले सडकमा नियमित सवारी सञ्चालनमा रोक लगाएको छ।
सडक खुलाउन पहिरो पन्छाउने काम भइरहे पनि वर्षा र लगातार पहिरो खसिरहेकाले यातायात कहिलेबाट नियमित हुन्छ भन्ने यकिन भइसकेको छैन।