३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

    काठमाडौँ, ३० भदौ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। कैलाश मानसरोवर यात्रा र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकमध्ये उनीहरू बाढीपछि बेपत्ता भएका हुन्।

    पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर तथा गोसाइँकुण्ड पुगेका विदेशी पर्यटकको विवरणका आधारमा ६०७ जना बेपत्ता रहेको तथ्याङ्क प्राप्त भएको हो। बेपत्ता हुनेमा २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग नखुलेको विभागले जनाएको छ।

    बेपत्ता हुने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। विभागका अनुसार भारतका १८९ जना सम्पर्कविहीन छन्। त्यसपछि अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० नागरिक बेपत्ता भएका छन्।

    त्यस्तै, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका छ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्डका पाँच, जापानका पाँच, फ्रान्सका चार, काजकिस्तानका तीन, बेलारुसका दुई, आयरल्यान्डका दुई, नेदरल्यान्ड्सका दुई, पोर्चुगलका दुई, स्पेनका दुई, बेल्जियमका दुई, इटलीका दुई, इस्टोनियाका दुई तथा फिनल्यान्ड, हङ्गेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्वीडेन, स्वीट्जरल्यान्ड र भियतनामका एक–एक जना बेपत्ता छन्।

    १८८ नेपाली पनि सम्पर्कविहीन

    बाढीपछि नेपालका १८८ जना पर्यटक तथा यात्रु पनि बेपत्ता भएको विभागले जनाएको छ। उनीहरूमा १६१ पुरुष र २७ महिला छन्।

    विभागका अनुसार बेपत्ता हुने नेपालीमा विदेशी पर्यटकका सहयोगीका रूपमा गोसाइँकुण्ड तथा कैलाश मानसरोवर क्षेत्रमा गएका व्यक्ति तथा घुम्न पुगेका नेपाली छन्।

    ३१० विदेशीको उद्धार

    विपद्को बीच उद्धार कार्य भने जारी छ। विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन्।

    यसैगरी, बाढीपछि सम्पर्कविहीन भएका मध्ये १३ जना पुनः सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेमा तीन पुरुष, नौ महिला र एक अन्य छन्।

    स्थानीय प्रशासन तथा सुरक्षा निकायले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बेपत्ता पर्यटक तथा यात्रुको खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा अझै पनि उद्धार तथा खोजी अभियानलाई प्राथमिकतामा राखिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij