काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँवर्ष २०८१ संगै २४सै घण्टा खुल्ने भएको छ। ठमेल पर्यटन विकास परिषद्का अनुुसार आगामि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसाय २४सै घण्टा खुल्ने भएका हुन् । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खोल्न सम्पूर्ण तयारी भएको जानकारी दिए।
उनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन्। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले लिनेछ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसायमा वैशाख १ गतेदेखि लागू हुने गरी सम्पुुर्ण सुरक्षा दिने तयारी गरिएको बताए।
व्यवसाय सञ्चालनका लागि बनाइएको आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड शुक्रवार बस्ने जिल्ला सुरक्षा समितिको बैठकले पारित गरेपछि लागू हुने बताइएको छ। ठमेलमा अहिले विहान ४ बजेसम्म क्लब खुल्छन्। रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्ने बताइएको छ।
ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः‚ सोह्रखुट्टे क्षेत्र २४सै घण्टा खुला गरिने बताइएको छ । आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ। ठमेल २४सै घण्टा खुलेपछि पर्यटकीय चहलपहल बढ्ने र व्यवसाय फष्टाउने अपेक्षा गरिएको छ ।