कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडीबारे छानबिन गर्न समिति मुस्ताङमा

कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडीबारे छानबिन गर्न समिति मुस्ताङमा

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडीबारे छानबिन गर्न समिति मुस्ताङमा

    काठमाडौं । मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि त्यस सम्बन्धमा छानबिन गर्न गठित सरकारी समिति मुस्ताङ पुगेको छ।

    अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत नीति तथा सञ्चालन महाशाखाको मूल्यांकन शाखाका प्रमुख तथा निर्देशक भुपालराज शाक्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त टोली शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै जोमसोम पुगेको र शनिबार कोरला नाका पुगेर स्थलगत अध्ययन गर्ने तयारी रहेको भन्सार कार्यालय मुस्ताङका प्रमुख बिदुर चुडालले जानकारी दिएका छन्।

    समितिले मुस्ताङ पुग्नुअघि पर्वत र कास्की जिल्लामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीहरूको समेत निरीक्षण गरेको थियो। टोलीले चीनबाट आयात गरिएका ती गाडीको पैठारी प्रक्रियामा कुनै अनियमितता, राजस्व छली वा अन्य कैफियत भए–नभएको विषयमा अनुसन्धान गरिरहेको छ।

    यसअघि सशस्त्र प्रहरी बल नेपालले कोरला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएपछि उक्त विषयले राष्ट्रियस्तरमै चर्चा पाएको थियो। गाडी आयात प्रक्रिया कानुनी र भन्सार व्यवस्थाअनुरूप भए–नभएको यकिन गर्न सरकारले छानबिन समिति गठन गरेको हो।

    समितिको प्रतिवेदनपछि गाडी आयात प्रक्रियासम्बन्धी वास्तविक अवस्था सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij