भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले विकास, पूर्वाधार, संस्कृति, शिक्षा, पर्यटन तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी आफ्ना सुझाव र जिज्ञासाहरू खुलस्त रूपमा राखेका छन् ।
सूर्यविनायक नगरपालिकाको सहयोग तथा समन्वयमा क्रियाशील पत्रकार मञ्च भक्तपुरद्वारा बिहीबार आयोजित ‘जनप्रतिनिधिसँग वडावासीको आवाज’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष तथा नगरका प्रवक्ता समेत रहेका रबिन्द्र सापकोटाले आफ्नो नेतृत्वमा सम्पन्न कामको खुलेर ‘फेहरिस्त’ प्रस्तुत गरेका थिए ।
अध्यक्ष सापकोटाले सीमित स्रोतसाधनका बाबजुद वडाले छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए । उनका अनुसार अधिकांश सेवाहरू १५ देखि ३० मिनेटभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । बक्तित्वकलाका धनी तथा तार्किक वडा अध्यक्ष रबिन्द्र सापकोटाले वडामा सम्पन्न गरेका विकास निर्माणका कामलाई सिलसिलेवार ढंगले प्रस्तुत गरेका थिए ।

अध्यक्ष सापकोटाले बढ्दो मूल्यवृद्धि र संघीय बजेट कटौतीका कारण केही पूर्वाधार आयोजना प्रभावित भए पनि अधुरा योजनाहरू सम्पन्न गर्ने लक्ष्यसहित वडा अघि बढिरहेको जानकारी दिए । संघीय सरकारबाट यस वर्ष बजेट नआए पनि प्रदेश र नगरपालिकासँग समन्वय गरी आवश्यक योजना कार्यान्वयन गरिने उनको भनाइ थियो ।
वडाध्यक्ष सापकोटाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै बालमैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले धार्मिक, सांस्कृतिक तथा खेलकुद पूर्वाधार आवश्यकताअनुसार विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक जग्गा संरक्षणमा वडा नं। ७ नगरपालिकाकै उत्कृष्ट वडामध्ये एक रहेको दाबी गर्दै उनले विकास निर्माणका क्रममा इतिहास र सम्पदाको संरक्षणलाई समेत सँगै अघि बढाइने स्पष्ट पारे ।
कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै स्थानीय आवश्यकता, प्राथमिकता र विकासका सम्भावनाबारे साझा समझदारी निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो । स्थानीय बासिन्दाले वडाको समग्र विकासका लागि विभिन्न रचनात्मक सुझाव प्रस्तुत गरेका थिए ।
सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय रामकृष्ण श्रेष्ठले विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे । उनले जनप्रतिनिधिहरू जनताको बीचमा निरन्तर उपस्थित हुनुपर्ने आवश्यकता औंल्याए ।

राधाकृष्ण नगरकोटीले स्थानीय संस्कृति र परम्पराको संरक्षणका लागि नयाँ वर्ष तथा सिन्दूर जात्राजस्ता सांस्कृतिक कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, व्यायामशाला तथा पार्क निर्माण गर्नुपर्ने सुझाव दिए । यस्तै दीपेश कार्कीले सडक सञ्जाल विस्तार, व्यवस्थित बस्ती विकास तथा पर्यटन क्षेत्रको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
तिथली गणेश भैरव समितिका अध्यक्ष सानुकाजी नगरकोटीले ऐतिहासिक सम्पदाको संरक्षण तथा विद्यालयहरूको विकासमा थप ध्यान दिनुपर्ने धारणा राखे । मनोज केसीले सार्वजनिक जग्गा संरक्षणलाई अझ प्रभावकारी बनाउन आग्रह गरे भने कृष्णमुरारी वाग्लेले वातावरण संरक्षण र योग अभ्यासका लागि उपयुक्त पूर्वाधार निर्माण गर्न सुझाव दिए ।
स्थानीय शिव नगरकोटीले दधिकोट र गुण्डुलाई जोड्ने पुल निर्माण सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै थप सामुदायिक संरचनाको आवश्यकता औंल्याए । रमेश नगरकोटी र रविन्द्र नगरकोटीले सडक मापदण्ड तथा निर्माण कार्यको प्रभावकारी नियमनमा जोड दिए ।
यसैगरी स्थानीय रामकृष्ण श्रेष्ठले गौ संरक्षण केन्द्र तथा पाथीभरा मन्दिर व्यवस्थापनमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे भने रिषभ खत्रीले सामुदायिक भवनको प्रभावकारी उपयोगका विषयमा सुझाव दिए ।