स्तनपान तथा ‘मदर्स मिल्क सब्स्टिच्युट ऐन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्तनपान तथा ‘मदर्स मिल्क सब्स्टिच्युट ऐन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • स्तनपान तथा ‘मदर्स मिल्क सब्स्टिच्युट ऐन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    भक्तपुर । जनस्वास्थ्य कार्यालय भक्तपुरले शिशु स्वास्थ्य संरक्षण तथा स्तनपान प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘मदर्स मिल्क सब्स्टिच्युट ९आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु० ऐन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालन गरिएको कार्यक्रममा विभिन्न स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । उनले शिशुको स्वस्थ विकासका लागि स्तनपान अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको अनियन्त्रित प्रचार–प्रसार तथा प्रयोगले शिशु स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने बताइन् ।

    खड्काले ‘मदर्स मिल्क सब्स्टिच्युट ऐन’ को प्रभावकारी कार्यान्वयनमार्फत फर्मुला दूध तथा अन्य प्रतिस्थापन सामग्रीको भ्रामक प्रचार रोक्न र आमाहरुलाई स्तनपानप्रति प्रोत्साहित गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले स्वास्थ्यकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिइन् ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले प्रशिक्षण प्रदान गर्दै स्तनपानको आवश्यकता, महत्व तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको बिक्री–वितरणसम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत प्रस्तुती दिएकी थिइन् । उनले शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउनुपर्ने, पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने तथा त्यसपछि पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने बताइन् ।

    707113728_2064233361112104_8517124934686798228_n.jpg

    उनले बजारमा फर्मुला दूध तथा शिशु आहारजन्य सामग्रीको आक्रामक विज्ञापन र प्रचारले स्तनपान संस्कृतिमा चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै कानुनले यस्ता गतिविधिलाई नियमन गरेको जानकारी दिइन् । शिशुको पोषण, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासका लागि आमाको दूध सबैभन्दा उपयुक्त र सुरक्षित आहार भएको उनको भनाइ थियो ।

    प्रस्तुतीका क्रममा पाण्डेले विभिन्न तथ्यांकसमेत सार्वजनिक गरेकी थिइन् । सन् २०२२ को सर्वेक्षणअनुसार जन्मेको एक घण्टाभित्र स्तनपान गराउने प्रतिशत ५५ रहेको छ, जुन सन् २०१६ को अवस्थासँग समान रहेको उनले बताइन् । यस्तै, ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर सन् २०१६ मा ६६ प्रतिशत रहेकामा सन् २०२२ मा घटेर ५६ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गर्दै उनले यसतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् ।

    कार्यक्रममा सहभागीहरुले स्तनपान प्रवद्र्धन, फर्मुला दूधको विज्ञापन नियन्त्रण तथा कानुनी कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा स्तनपानलाई परिवार, समुदाय तथा स्वास्थ्य संस्थाले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको थियो ।

    जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यसअघि सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, चाँगुनारायण नगरपालिका तथा भक्तपुर नगरपालिकामा समेत यस्तै अभिमुखीकरण कार्यक्रम सञ्चालन भइसकेका छन् । कार्यालयले आगामी दिनमा पनि विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै स्तनपान प्रवद्र्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij