काठमाडौं । नेपाल बार एशोसियशनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बारले अदालतमा हुने बाह्य हस्तक्षेप रोक्न र न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन विशेष ध्यान दिन आग्रह गरेको छ ।
बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र नेतृत्वको टोलीले हिजो प्रधानन्यायाधीश शर्मासँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएको हो । भेटका क्रममा टोलीले अदालत सुधारका लागि हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन गरिएको समितिले दिएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको थियो ।
बारले न्याय प्रशासनलाई अझ प्रभावकारी र पारदर्शी बनाउन दर्ता प्रक्रियामा स्पष्ट समयसीमा तोक्नुपर्ने माग गरेको छ । ध्यानाकर्षण पत्रमा अदालतमा दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा अधिकतम भोलिपल्टसम्म अनिवार्य रूपमा दर्ता गर्ने वा दरपिठ गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, दरपिठ भएका निवेदनहरूमा पनि समयमै न्याय सुनिश्चित गर्नुपर्ने माग गर्दै सात दिनभित्र अनिवार्य रूपमा सुनुवाइ हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
बारले यी सुधारात्मक कदमहरूले अदालतप्रतिको विश्वास बढ्ने र न्याय सम्पादन प्रणाली थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ ।