सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

    टीकापुर । कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ । टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ ।   

    प्रतिपेज पाँच लिनुपर्नेमा प्रतिफोटोकपी १० लिने गरिएकोे छ भने पिउने पानी प्रतिबोत्तल २० लिनुपर्ने भए पनि २५ देखि ३० सम्म लिने गरेको भेटिएको हो । 

    टीकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नुपरेको बताउछन् । ‘‘फोटोकपी गर्दा १० लिन्छन्, यो साह्रै महँगो भयो’’, उनी भन्छन्, ‘‘मूल्यमा एकरुपता हुनुपर्छ । यहाँ मानिसको बाध्यता हुन्छ ।’’

    लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेका बताउछन् । ‘‘यहाँ आउने उपभोक्तालाई बाध्यता छ, गर्ने भए गर, नभए गर्दैनौँ भन्छन्’’, उनले भने, ‘‘ग्राहकलाई टाढा जानुभन्दा यही गर्ने गरेका छन् ।’’

    सेवाग्राही धनबहादुर बोहराले पानी रु ३० रुपैया बोत्तल किनेर खानुभयो । उनलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउछन् । उनी जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पानी र फोटोकपीमा यसैगरी ठगिएका छन् । ‘‘मूल्यमा ठगिन हुँदैन भन्ने मेरो पनि भनाइ छ, तर सुधार गर्न सकिएको छैन’’, शान्तराजले भने, ‘‘ १२ मा किनेको पानी हामीले किनेर खाँदा रु ३० पुग्छ । यसमा सुधार आवश्यक छ ।’’

    व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको रु १० रुपैया लिने गरेका छन् । सबै ब्यापारीले रु १० लिन भनेपछि उनले १० रुपैयाँ लिने गरेको बताए । अर्का व्यापारी नृप ठकुल्ला भने  पाँच रुपैयामै फोटोकपी सेवा दिने गरेको बताउछन् । ‘‘मैले नियमिति रुपमा रु पाँच मै फोटोकपी गर्ने गरेको छु’’, उनी भन्छन्, ‘‘अन्तको मलाई थाह छैन ।’’ कानुन व्यवसायी मुक्तिप्रसाद शर्मा मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेका, आफूहरु महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा अनुगमन गर्न र सुधार गर्न आग्रह गर्नुहुन्छ । ‘‘पालिकाले नियमित अनुगमन गर्नुपर्छ, सरकारी कार्यालय वरिपरि उपभोक्तामािथ ठगी भइरहेको छ’’, उनले भने, ‘‘दैनिक सयौँ उपभोक्ता ठगिन्छन्, यसमा सुधार गरौँ ।’’

    टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले तोकिएको मूल्यभन्दा बढी नलिन व्यापारीलाई आग्रह गर्दै, धेरै लिएको भेटिए कानुन बमोजिम कारबाही हुने बताए। ‘‘पहिलो पटक बढी मूल्य नलिन आग्रह गरिएको छ । हामी नियमित अनुगमन गरिरहेका छौँ’’, उनले भने, ‘‘मूल्यमा ठगी गर्ने, गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही हुनेछ । बजारलाई व्यवस्थित बनाउन र उपभोक्तामैत्री बनाउन सबैको सहयोग आवश्यक छ ।’’

    यसका साथै पालिकाले अनुगमनका क्रममा टीकापुरका केक तथा बेकरी पसलमा म्याद नाघेका खानेकुरा प्रयोग भएको भेटाएको छ । केक बनाउँदा प्रयोग हुने सामग्री म्याद नाघेका, बिग्रिएका पाइएका छन् । अनुगमनका क्रममा केक बनाउँदा प्रयोग हुने म्याद नाघेका, बिग्रिएका सामग्रीको पालिकाले पहिलो पटक बरामद गरेको छ । नगरपालिकाको सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले केक बनाउँदा राम्रो सुगन्धका लागि प्रयोग हुने सामग्री, खान नहुने रङको प्रयोग, सरसफाइको कमी, बेकिङ पाउडर, बेकिङ सोडा म्याद नाघेका, बर्थडेमा पट्काएर आवाज निकाल्ने वा रङ्गीन कागज उड्ने सामग्री ‘पार्टी पपर’ बरामद गरी व्यापारीलाई सचेत गराइएको जानकारी दिए। 

    त्यस्तै टीकापुरमा सञ्चालित फार्मेसी तथा क्लिनिक, विशेषज्ञ सेवा, डेन्टल सेवाको अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा मेडिकल केही नवीकरण नभएका, विशेषज्ञ सेवाका लागि अनुमति नलिएका, पटकपटकको निर्देशन कार्यान्वयन नगरेको पाइएकाले ७ दिनको समय दिइएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij