काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको हो ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थी भर्ना थालिएको भन्दै त्यस्तो कार्य डतत्काल रोक्न निर्देशन दिएको हो । निर्देशनको अवज्ञा गरे कडा कारबाही गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने निर्णय गरेसंगै मन्त्रालयले त्यस्तो विज्ञप्ति जारी गरको हो ।
सर्वोच्च अदालतले पनि २ दिनअघि शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन आदेश दिएको थियो ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शिक्षा नियमावली संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बाहिरका कुनै पनि शीर्षकमा शुल्क नउठाउन भनिएको छ ।
यसअघि भर्ना शुल्क उठाएको भए तत्काल फिर्ता गराउन र गैरकानुनी काम हुन नदिन सम्बन्धित सबै स्थानीय तहलाई मन्त्रालयले अनुरोध गरेको छ ।