काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीबाटे चालु आर्थिक वर्षको पाँच महिनामै एक खर्ब २३ अर्ब रुपैया विदेशिएको छ । प्लसटु सकेर बिदेश अध्ययन गर्न जाने बिद्यार्थीको संख्या बढोत्तरी भएसंगै अध्ययनका लागि बिदेशी मुद्रा खर्चिने क्रम बढेको हो । राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि यो परिमाणमा रकम बाहिरिएको हो।
अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोहि अवधिमा ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा थप ३९ अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याँकले देखाएको छ । पछिल्लो तथ्याँङ्क अनुसार, साउनदेखि मङ्सिरसम्म भ्रमणका लागि ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष सो अवधिमा भ्रमणका लागि ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो ।
यस्तै अध्ययन प्रयोजनका चालु वर्ष लागि ४७ अर्ब ३४ करोड रुपियाँ लागि बाहिरिएको छ। गत वर्ष सो अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ मात्र विदेशिएको थियो। अध्ययन र भ्रमणका लागि पाँच महिनामा बाहिरिएको रकम नेपालले वस्तु निर्यातबाट गरेको आम्दानीको तुलनामा दोब्बरभन्दा बढी भएको बताइएको छ । सो अवधिमा नेपालले ६२ अर्ब रुपैयाँ बरावरको वस्तु निर्यात गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।