काठमाडौं । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा सुरू गरेको छ । पार्टीले आजदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेल ले ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर सदस्यता वितरण, अद्यावधिक तथा संगठनको अवस्थाबारे प्रतिवेदन तयार पार्नेछन् ।
पार्टीले पुराना क्रियाशील सदस्यहरूलाई वैशाखभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ । यसपटक सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गरिनेछ, र सो परिचयपत्र बिना १५औँ महाधिवेशनमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ ।
नयाँ सदस्यका लागि भने डिजिटल माध्यमबाट सदस्यता दिने प्रणाली लागू गरिएको छ । ‘जरा अभियान’ अन्तर्गत महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, अघिल्लो निर्वाचनको समीक्षा तथा पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् ।
यसैबीच, केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी तथा पेशाकर्मीहरूसँग संवाद कार्यक्रम सञ्चालन गरिनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम गरिने जनाइएको छ । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि तथा फारम उपलब्ध गराएर जिल्ला पठाइसकिएको र वैशाखभर सदस्यता अद्यावधिकको काम तीव्र रूपमा अघि बढ्ने महामन्त्री पौडेलले बताए ।