काठमाडौं । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्ड फ्लू (एच५एन१) संक्रमण फैलिएको पुष्टि भएपछि करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगर का अनुसार संक्रमण देखिएका २२ वटा व्यावसायिक फार्ममा रहेका कुखुरा नष्ट गरिएको हो । वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादव ले मोरङका ८, झापाका २ र सुनसरीका १२ फार्ममा संक्रमण पुष्टि भएको जानकारी दिए ।
निर्देशनालयका अनुसार ७० हजार लेयर्स, ७ हजार बोइलर प्यारेन्ट, १ हजार बोइलर, ४ हजार चल्ला तथा २ हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । यससँगै ५७ हाँस, २ लाख २७ हजार अण्डा र २८ हजार किलो दाना पनि नष्ट गरिएको छ ।
संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्र वरपर उच्च सतर्कता अपनाइएको छ । साथै, संक्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाइएको छ भने अन्य जिल्लामा पनि निगरानी कडा पारिएको निर्देशनालयले जनाएको छ ।