काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार लम्साललाई एक युवतीले लगाएको बलात्कार आरोपबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो । ती युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक वर्षअघि आफूलाई लम्सालले बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।
प्रहरीले सोही आरोपलाई आधार बनाएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच, लम्साल संलग्न रहेको चलचित्र ‘पाँच पाण्डव’ बाट पनि उनलाई निष्कासन गरिएको छ । चलचित्र निर्माण कम्पनी कालारानी फिल्मस् प्रालिले विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा उनलाई परियोजनाबाट हटाइएको जनाएको हो ।
निर्माण पक्षका अनुसार लम्सालको करिब ९० प्रतिशत दृश्य छायांकन सम्पन्न भइसकेको भए पनि अब उनका कुनै पनि दृश्य अन्तिम फिल्ममा समावेश नगरिने स्पष्ट पारिएको छ ।
यस विषयमा कलाकार केकी अधिकारी ले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “हाम्रो समाजको विडम्बना नै यही हो कि यहाँ पीडितले शिर झुकाएर हिँड्नुपर्छ र अपराधी कतिपय अवस्थामा ‘हिरो’ बनेर घुमिरहेका हुन्छन् । एउटा यस्तो समाज जहाँ अपराधी डराओस्, पीडित होइन, के यो कल्पनामा मात्र सिमित छ कि हामी साच्चै निर्माण गर्न सक्छौं ? अनि सुन्नुस त, यस्तो किसिमको कठोर समाजमा नि बोल्न ठुलो सहास चाहिन्छ, अनि त्यो सहास बटुल्न समय लाग्छ । कम्तीमा यस्तो घटनामा अलिक संवेदनशील बनेर सोचौं, लेखौँ । पीडितलाई सुरक्षा र सम्मान दिऔँ, अपराधीलाई सामाजिक बहिष्कार र कानुनी कठघरासम्म पुर्याऔँ ।” भन्दै प्रतिक्रिया दिएकी छिन् ।