काठमाडौं । हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएसँगै हवाई भाडा बढेको छ । खाडी युद्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा पनि हवाई इन्धनको मूल्य बुधबार बिहानैदेखि लागू करिब दोब्बरले बढेपछि हवाई भाडा बढाइएको हो ।
नेपाल आयल निगमले आज बिहानैदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको थियोे । यो बृद्वीसँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य झण्डै दोब्बरले बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च धान्नका लागि ‘फ्युल सरचार्ज’ बढाएका हुन् । यो वृद्धि सबै उडान गन्तव्यका साथै हेलिकप्टर भाडामा समेत लागू हुने नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।
काठमाडौं(धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो । मुल्य बढेसँगै धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ ।
अब धनगढी जाने न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ । काठमाडौं-माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ ।
काठमाडौं-भद्रपुर न्यूनतम ९ हजार ९८९ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ । त्यस्तै काठमाडौं(विराटनगरको न्यूनतम ८ हजार ८८ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ पुगेको छ ।
त्यस्तै काठमाडौं-जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं(पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी काठमाडौं-भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ पुगेको छ । काठमाडौं(नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ । काठमाडौं-तुम्लिङटार न्यूनतम ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० कायम भएको छ ।