कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

    काठमाडौँ ।  नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ । 

    महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिए ।

    सातै प्रदेशमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषणसमेत गरिने जनाइएको छ । 

    उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित प्रदेशमा तोकिएका संयोजकको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सहभागिता रहनेछ । कार्यक्रमको व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने महामन्त्री पौडेलले उल्लेख गरे। 

    कार्यक्रमको तालिका अनुसार यही चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा डिला सङ्ग्रौला पन्त, चैत २५ गते मधेस प्रदेशको जनकपुरमा हुने कार्यक्रमका लागि फरमूल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ । 

    यसैगरी, वाग्मती प्रदेशको हेटौँडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा यही चैत २७ गतेको कार्यक्रमका लागि देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा  चैत २९ गतेको कार्यक्रमका लागि योगेन्द्र चौधरीलाई प्रतिनिधि तोकिएको छ । 

    यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा आगामी वैशाख ३ गते हुने कार्यक्रमका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

    कांग्रेसले यस कार्यक्रममार्फत निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी सुदृढीकरण, सङ्गठन विस्तार तथा आगामी रणनीति तय गर्ने लक्ष्य राखेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij