पश्चिमी न्यूनचापीय प्रणालीको असरः काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको असरः काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा

बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • पश्चिमी न्यूनचापीय प्रणालीको असरः काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली लगायतका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसमविद्हरूका अनुसार काठमाडौं, नुवाकोट, लमजुङ, म्याग्दी, पर्वत, कास्की, बागलुङ, रोल्पा, सल्यान र प्युठानसहितका क्षेत्रमा पानी परेको हो।

    पछिल्लो तीन घण्टाको तथ्यांकअनुसार सबैभन्दा बढी वर्षा संखुवासभाको नुममा ३४.६ मिलिमिटर मापन भएको छ। रोल्पाको रुलवाङमा २०.८ मिलिमिटर र पर्वतको कुश्मामा २० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यसैगरी ताप्लेजुङमा १७.४ मिलिमिटर तथा गोरखाको ताकुकोटमा १३ मिलिमिटर पानी परेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखा ले आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बादल लाग्ने अवस्था रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने बताइएको छ।

    महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

    यसअघि हिजो दिउँसोपछि पूर्वदेखि पश्चिमसम्म वर्षा, चट्याङ र असिनापानी परेको थियो। पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा वर्षा बढी देखिएको थियो। काठमाडौंको जरसिंहपौवा र नुवाकोटको ककनीलगायत क्षेत्रमा असिना परेको विवरण प्राप्त भएको छ।

    आज राति तराईका केही भागमा तुँवालो रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै भोलि बिहान तराई क्षेत्रमा पुनः हुस्सु लाग्ने सम्भावना रहेको जनाइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij