काठमाडौं । वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा जिम्बावेलाई १ सय ७ रनले पराजित गरेको छ ।
सिमरन हेटमायर र रोभमन पावेलको आक्रामक ब्याटिङ गरेपछि वेष्ट इन्डिजले फराकिलो जित हात पारेको हो ।
हेटमायरले ३४ बलमा ८५ रन बनाएपछि दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाई २ सय ५४ रन बनायो । ट्वान्टी–२० विश्वकपमा यो दोस्रो उच्च स्कोर हो ।
जिम्वावेले सोमवारराती वानखेडे रंगशालामा टस जितेर बलिङ गर्ने निर्णय गरेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । सन् २००७ को ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले केन्याविरुद्ध बनाएको २६०–६ को स्कोरभन्दा वेस्ट इन्डिज थोरैले मात्र पछाडि रह्यो ।
ब्रान्डन किङ ९ रनमा आउट भएपछि १७–१ को स्थितिमा क्रिजमा आएका देव्रेहाते हेटमायर ९ रनमा हुँदा डिप फाइन लेगमा तासिङ्गा मुसेकिवाले क्याच छाड्न पुगेका थिए ।
हेटमायरले त्यसको पूरा फाइदा उठाउँदै १९ बलमै अर्धशतक पार गरे । सोक्रममा उनले ५ छक्का र ४ चौका प्रहार गरे । हेटमायरले प्रतियोगितामा सबैभन्दा कम बलमा अर्धशतक बनाउने दक्षिण अफ्रिकाका एडेन मारक्रमले बनाएको कीर्तिमान बराबरी गरे ।
त्यसपछि तेस्रो विकेटका लागि ५२ बलमा १ सय २२ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजको १५ ओभरमा १ सय ७६ रन पुग्यो ।
जिम्बावेका रिचर्ड एनगाराभा र ब्लेसिङ मुजारावानीले २–२ विकेट लिए । तर कप्तान राजाले ३ ओभरमा ५२ रन खर्चन पुगे ।सेरफन रदरफोर्डले १३ बलमा अविजित ३१ रन बनाए । रोमारियो सेफर्डले १० बलमा २१ र जेसन होल्डरले ४ बलमा १३ रन बनाए ।
जबाफमा आएको जिम्बावे १७।४ ओभरमा १ सय ४७ रनमा अलआउट भयो ।
उसका लागि ब्राड इभान्स र एनगाराभाले ४४ रन जोडेपछि मात्र जिम्बावेको यो स्कोर बनेको थियो । इभान्सले आफ्नो उच्च स्कोर बनाउनेक्रममा २१ बल खेल्दै २ चौका ५ छक्कासहित २१ बलमा ४३ रन बनाए । डिएन मेयर्स २८, राजा २७ रनमा आउट भए ।
वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिए । देव्रेहाते स्पिनर मोटीले ४ ओभरमा १ मेडन राख्दै २८ रनमात्र खर्चे । अर्का देव्रेहाते स्पिनर अकेल हुसैनले पनि ४ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फोर्डले २ विकेट लिए ।