काठमाडौँ । यू–१९ विश्वकप अन्तरगत आज नेपाल र स्कटल्यान्डबीच पहिलो औपचारिक अभ्यास खेल हुने भएको छ । आईसीसी यू–१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो । सो खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
आजै नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबिच पनि अभ्यास खेल खेलिने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल जनवरी १६ अर्थात मंगलबार वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ ।
जनवरी १९ तारिखदेखि शुरु हुने यू–१९ विश्वकपमा नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् ।
यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ पाकिस्तानसँग खेल खेल्ने नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बंगलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् ।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् ।
नेपाल क्रिकेट संघ क्यानले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् ।