इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

    फिक्कल । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा १ करोड ४ लाख ५९ हजार १ सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । 

    समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ९९ लाख ६४ हजार ५६ नगद रुपैयाँ र ४ लाख ९५ हजार १ सय ८ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन हुने गरेको छ ।

    समितिका अनुसार साउनमा ४ लाख ४२ हजार ५ सय ८८ रुपैयाँ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा ७ लाख ५६ हजार १ सय ७४ रुपैयाँ नगद र ६९ हजार ४ सय बराबरको जिन्सी, असोजमा ५ लाख ७० हजार ३ सय ८७ रुपैयाँ नगद र ६७ हजार ९ सय बराबरको जिन्सी तथा कात्तिकमा २१ लाख १० हजार ४ सय ७५ रुपैयाँ नगद र ५९ हजार ९ सय बराबरको जिन्सी सङ्कलन भएको छ । 

    त्यसैगरी, मङ्सिरमा १८ लाख ३२ हजार ५ सय ५७ रुपैयाँ नगद र ६८ हजार ८ सय बराबरको जिन्सी, पुसमा १५ लाख ४२ हजार ९७ रुपैयाँ नगद र ४० हजार ९ सय बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ नगद  र २८ हजार २ सय बराबरको जिन्सी तथा फागुनमा १४ लाख ५५ हजार २ सय ४३ रुपैयाँ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी सङ्कलन भएको छ । 

    पाथीभरा मन्दिरमा सङ्कलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । “भक्तजनको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,” अध्यक्ष स्याङ्बोले रासससँग भने, “हामी सधैँ पारदर्शिता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।”  

    पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

    गत वर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार ३ सय ६२ रुपैयाँ भेटी सङ्कलन भएको थियो । सो अवधिमा ८५ लाख ३१ हजार २ रुपैयाँ नगद र ७ लाख ६४ हजार ३ सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij