काठमाडौं । कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति करिब १० बजे एउटा मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। ठक्करका कारण गम्भीर घाइते तीन जनामध्ये मोटरसाइकल चालक ४२ वर्षीय हीराबहादुर परियारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मोटरसाइकलमा सवार कावासोती–३ की ३२ वर्षीया सुनिता जोहार्जा र कावासोती–१४ की २४ वर्षीया मीना मगरलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार भएको ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।