काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को मध्यावधि निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन्।
शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको ७५औं बार्षिकोत्सवका अवसरमा भएको हिरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा पौडेलले त्यसो भनेका हुन्।
‘देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ। त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ’, पौडेलले भने।
निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने विश्वास रहेको पौडेलको कथन थियो।
उनले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।