काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । स्थानीयको अवरोधका कारण विगत केही दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडी सहमति जुटेसँगै जान थालेका छन् ।
सहमति अनुसार स्थानीयलाई विगतमा चलाइएको मुद्दाका सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गरिने छ । वातावरणीय अध्ययन प्रतिवेदन छिटो तयार पर्न परामर्शदाता कम्पनीलाई पत्राचार गरी त्यसको लिखित प्रतिबद्धता समेत लिने सहमति जुटेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ ।
फोहोर फाल्न तयार पारेको क्यापिङ लेयरभन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेका कारण लिचेड सिधै पानीको मुहानमा मिसिएका कारण कोल्पु खोला प्रदूषित भई स्थानीयलाई ठूलो असर परेको हुँदा त्यस्तो काम तत्काल रोकी त्यसमा काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहमति भएको छ । लिचेडको उचित व्यवस्थापन गर्न १५ दिनभित्र विज्ञ टोली फिल्डमा पठाइने भएको छ ।