काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट नौ अर्ब रुपैयाँभन्दा बढीको जस्तापाता निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा उत्पादित जस्तापाता भारत निर्यात भएको हो ।
जस्तापातासहित नेपालबाट पछिल्लो समय सिमेन्ट र डण्डी लगायतका निर्माण सामग्रीसमेत निर्यात हुँदै आइरहेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन–माघसम्मको अवधिमा नेपालबाट ९ अर्ब १८ करोड रुपैयाँको जस्तापाता निर्यात भएको छ ।
विदेशतर्फ जस्तापाताको माग बढे पनि आन्तरिक बजारमा भने यसको माग घटेको उद्योगी बताउँछन् । हुलास स्टिलका निर्देशक हिमान्सु गोल्छा कोभिड महामारी यता आन्तरिक वजारमा जस्तापाताको माग ४० प्रतिशतले घटेको बताउँछन् । अन्य निर्माण सामग्रीसंगै जस्तापाता समेत पर्ने उनको भनाइ छ ।
आन्तरिक बजारमा माग घटेपनि भारततर्फको निर्यात बढेसंगै भनेपालमा उद्योगको संख्या बढ्दै गएको छ । नेपाली उद्योगले भारतको उत्तरप्रदेश, विहार र पश्चिम बंगालमा एक वर्षदेखि जस्तापाता निर्यात गरिरहेका छन् । हाल नेपालमा ५ वटा जस्तापाता उद्योग छन् ।
यी उद्योगको वार्षिक उत्पादन क्षमता ५ लाख टन छ । जबकि, यो नेपालको आन्तरिक खपतको तुलनामा यो करिव ४ गुणाले बढी हो । नेपालबाट आरती स्ट्रिप र हुलास स्टिल उद्योगले बढी जस्तापाता निर्यात गर्दै आएका छन् ।