भक्तपुर-भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेको भीड दिनप्रतिदिन बढ्दै गएको छ ।

दैनिक डेढ–दुईसयबाट सुरु भएको भिड अहिले ८ सयभन्दा माथि पुगिसकेको छ ।
कार्यालयमा हाल दुई स्थानबाट फोटो खिच्ने कार्य हुँदै आएकोमा सेवा द्रुत बनाउन सोमबारदेखि थप दुई स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालको निरीक्षणपछि यस्तो व्यवस्था मिलाईएको हो ।

सिडिओ ढकालले निर्वाचन कार्यालयको भीड व्यवस्थापन गर्दै कामको गति बढाउन निर्वाचन कार्यालय पुगेरै आवश्यक निर्देशन दिएका छन् । उनी कार्तिक १२ गतेदेखि भक्तपुर जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका छन् ।

ढकालको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी सूर्यबहादुर खडेकासहितको तीन सदस्यीय निरीक्षण टोली पनि सहभागी थियो । टोलीले स्थलगतरुपमा मतदाता नामदर्ता कार्य अवलोकन गर्दै तत्काल कार्यक्षमता वृद्धि गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार, भिड बढेसँगै सुरक्षा व्यवस्थापन पनि कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार, भिड बढेसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार हालसम्म ७ हजारभन्दा बढी नयाँ मतदाता थपिईसकेका छन् । उनका अनुसार दैनिक डेढ–दुई सय जना नाम दर्ता गर्न आउने गरे पनि शुक्रबार यो संख्या बढेर ८ सय ६५ पुगेको थियो ।
मगरले भने, “दुई सयभन्दा बढीको लाइन लाग्नेबित्तिकै आयोगमा अतिरिक्त टेक्निसियन माग गरेका थियौं, तर आठ सय नाघ्दासमेत थप जनशक्ति पठाइएको छैन ।”
भीड बढेसँगै बिहानैदेखि सेवा सुरु गर्ने गरिएको छ । “अब बिहान ८ बजेदेखि नै नामदर्ता सुरु हुन्छ,” प्रमुख मगरले बताए ।
स्थानीय गाम्चाकी लक्ष्मी न्यौपानेका अनुसार, “नाम दर्ता गर्न दुई–तीन घण्टासम्म लाइन बस्नुपर्छ, तर पनि सेवा पाउँदा खुशी लाग्छ ।” मतदाता नामावलीमा दर्ता गर्न आएकाहरुको एउटै माग छ, ‘काम छिटो छरितो भए अरु केही चाहिँदैन ।’
जिल्ला प्रशासन कार्यालयले ब्यवस्था गरेको थप जनशक्ति र प्राविधिक सहयोगले आगामी दिनमा सेवाग्राहीलाई अझ सहज हुने अपेक्षा गर्न सकिन्छ ।