पुष्प मेलामा १ करोड ५ लाख रुपैयाँको कारोबार

पुष्प मेलामा १ करोड ५ लाख रुपैयाँको कारोबार

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • पुष्प मेलामा १ करोड ५ लाख रुपैयाँको कारोबार

    काठमाडौं । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा १ करोड ५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । मेलामा १ करोड रुपैयाँको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी ५ लाख ५० हजार रुपैयाँको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।  

    फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार १ सय जनाले अवलोकन गरेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । 

    अध्यक्ष तामाङका अनुसार मेलामा व्यावसायिक कक्ष ६०, ल्यान्डस्केपिङ कक्ष तीन, अफिसियल कक्ष आठ,  प्रतियोगितात्मक प्रदर्शनी एक कक्ष र एक खाद्य प्रदर्शनी कक्षसहित जम्मा ७३ कक्ष राखिएको थियो । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १ सय ५० रुपैयाँर विद्यार्थीका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नाराका साथ मेला सञ्चालन गरिएको हो ।  

    गत शनिबार मेलाको स्थलगत अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका थिए । नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । 

    फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् ।  

    २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । अन्य समयभन्दा कार्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक करिब ३ अर्ब ७ करोड रुपैयाँको फूलको कारोबार हुने गरेको बताइएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij