आठ महिनामा पौने ५ लाखले लिए श्रम स्वीकृति,फागुनमा मात्र विदेशिए ६५ हजार बढी नेपाली

आठ महिनामा पौने ५ लाखले लिए श्रम स्वीकृति,फागुनमा मात्र विदेशिए ६५ हजार बढी नेपाली

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • आठ महिनामा पौने ५ लाखले लिए श्रम स्वीकृति,फागुनमा मात्र विदेशिए ६५ हजार बढी नेपाली

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ४ लाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा १३ प्रतिशतले कम हो ।

    रोजगारीका लागि फागुन महिनामा मात्रै साढे ६५ हजार नेपाली विदेशिएका छन् । विभागका अनुसार फागुनमा ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् । फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेमा ६ हजार ७ सय ६८ महिला छन् भने बाँकी पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

    वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क  छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

    यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् ।यस्तै साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स पनि बढेकोे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij