काठमाडौं । उत्तरी अफगानिस्तान सोमबार मध्यराति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले थर्कियो । मजार(ए(शरीफ नजिकै केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पले जनधनको क्षति पुर्याउनुका साथै ऐतिहासिक महत्वका संरचनाहरूमा समेत असर पुर्याएको छ । अमेरिकी भू(वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार, बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु थियो ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी ज़ैदले प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, ‘हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं । धेरै मानिस घाइते भएका छन् ।’ अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पनि देशका धेरै प्रान्तहरू भूकम्पबाट प्रभावित भएको जनाएको छ।
भूकम्पको सबैभन्दा चिन्ताजनक पक्षमध्ये एक मजार(ए(शरीफस्थित ऐतिहासिक ब्लू मस्जिदमा पुगेको क्षति हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू छरिएका देखिन्छन् । इस्लामका चौथो खलिफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको समाधिस्थल मानिने यो मस्जिदमा क्षति पुग्नुले सांस्कृतिक र धार्मिक दुवै क्षेत्रमा गहिरो असर परेको छ ।
मजार(ए(शरीफकी पूर्व शिक्षिका रहिमाले भूकम्प आउँदा आफू र आफ्ना छोराछोरी डराएर घरबाट बाहिर निस्केको बताइन् । ‘मैले यति शक्तिशाली कम्पन पहिले कहिल्यै महसुस गरेकी थिइनँ,’ उनले सिएनएनसँग भनिन् । अफगानिस्तान भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्छ । गत अगस्टमा पूर्वी भागमा गएको ६ म्याग्निच्युडको भूकम्पले २,२०० जनाको ज्यान लिएको थियो भने २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा २,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो । गएरातिको भूकम्पपछि कम्तीमा पाँचवटा पराकम्प महसुस गरिएका छन्, जसमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको थियो ।
भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म पनि महसुस गरिएको युएसजिएसले जनाएको छ । युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना औंल्याउँदै ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ । यसले थप जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ ।