आन्दोलनमा देशभरि दुई दर्जन होटलमा तोडफोड, आगजनी लुटपाट हुँदा २५ अर्ब नोक्सानी

आन्दोलनमा देशभरि दुई दर्जन होटलमा तोडफोड, आगजनी लुटपाट हुँदा २५ अर्ब नोक्सानी

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • आन्दोलनमा देशभरि दुई दर्जन होटलमा तोडफोड, आगजनी लुटपाट हुँदा २५ अर्ब नोक्सानी

    काठमाडौँ। जेन जेडले गरेको आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति पुर्‍याइएको पाइएको छ ।

    होटेल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको पाइएको छ ।

    हानका अनुसार काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ । होटेल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको पाइएको छ ।

    काठमाडौँस्थित होटेल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानको अनुमान छ । देशभरि यस्तो क्षति २५ अर्ब पुग्ने अनुमान छ । काठमाडौँमा पाँचतारे होटेल हिल्टनसँगै ह्यात होटलमा समेत आगजनी भएको छ ।


    उता, दाङस्थित होटेल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । देशभरिका होटलमा भएको क्षतिको विवरण संकलन क्रममा रहेको समेत हानले जनाएको छ ।

    होटेलहरू मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने हानको अनुमान छ ।

    हाल सञ्चालन अवरुद्ध भएका यी होटेलले बेहोर्नुपर्ने बैंक तथा वित्तीय संस्था लगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको समेत हानको भनाइ छ ।

    सुशासन विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि दर्जनौँ नवयुवाले जीवन बलिदान गरेका र सयौँ घाइते योद्धाको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालीन हालको अवस्थामा सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनी सहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको छानबिन हुनुपर्ने माग समेत गरिएको छ ।

    शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मतसम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न माग गरिएको छ ।

    आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासमा सँगसँगै अघि बढ्न हानले माग गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij