खोटाङ । खोटाङ जिल्लाबाट यसवर्ष ३६ करोड रुपैयाँ बढीको सुन्तला निर्यात भएको छ । दश स्थानीय तह रहेको खोटाङबाट ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको बताइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ ।
केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष जिल्लामा तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ। पण्डितका अनुसार, जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ ।
गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी सुन्तलला उत्पादन भएको छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको ज्ञान केन्द्रले जनाएको छ ।जन्तेढुङ्गा –६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी छ ।
सो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ ।
जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईको भनाई छ । जन्तेढुङ्गाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ ।
गाईघाटमा प्रतिकेजी एक सय १० देखि एक सय ३० सम्ममा बिक्री भइरहेको छ। रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताए । सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा–मासु खान र घर खर्च पुग्छने मगरको भनाई छ । जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजारका अलवा धरान, विराटनगर, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको पाइएको छ ।
जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।खोटाङको सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । जिल्लाका स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।