तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

    मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । 

    सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ । आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ । 

    आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई सय दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ । आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक २ लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताए ।

    उनका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ ।

    यसैगरी, आयोजनाले मधेसका चार जिल्ला र बागमतीको मकवानपुरका गरी करिब २८ हजार चार सय किसानलाई सो दूध खरिद गरेबापत मासिक ३ करोड १० लाख रुपैयाँ रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताए । यसैगरी, आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय किलो, पनिर चार सय किलो र मख्खन पाँच सय किलो उत्पादन गर्दै आएको छ । 

    आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक १ हजार २ सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौँका उपभोक्ताको मागबमोजिम मिठाई, पैँडा र लालमोहन दैनिक आठ सय कार्टुन पठाउँदै आएको सो आयोजनाले जनाएको छ । गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक दुई हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी १ सय ५० व्यक्ति कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij