काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
नेदरल्यान्ड्सले ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको छ ।
पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
पहिलो दुई खेलमा नेपाललाई २ रन र नामिबियालाई ५९ रनले पराजित गरेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित हुँदा नामिबियाविरुद्धको चौथो खेल भने वर्षाले अवरुद्ध भएको थियो ।