काठमाडौँ । बलियो टोली नेदरल्यान्ड्सलाई हराउादै नेपाल ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ । कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
शनिबार टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले सो लक्ष्य २८ बलअघि ४ विकेटको क्षतिमा भेट्टायो । सो जितसंगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरेको भए नेपालको रनरेट नेदरल्यान्ड्सभन्दा माथि हुन्थ्यो । नेदरल्यान्ड्स ३ खेल खेलेर २ मा जित र १ मा हार ब्यहोर्दै ४ अंकका साथ पहिलो स्थानमा छ । उसको नेट रन रेट ०.३१० छ । नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार ब्यहोर्दै ४ अंक बटुलेको छ ।
नेपालको नेट रन रेट ०.२९३ रहेको छ । नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार ब्यहोर्दै २ अंकको साथ तालिकाको अन्तिममा छ । उसको नेट रन रेट –०.७०० छ । प्रतियोगितामा अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान छ । भोली लिगको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया आमने सामने हुंदैछन् ।
सो खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ । नामिबियाले नेदरल्यान्ड्सलाई हराएमा नेदरल्यान्ड्सको नेट रन रेट घट्ने छ । नामिबियाले हारेमा समूह बिजेता बन्दै नेदरल्यान्ड्स फाइनल प्रवेश गर्ने छ ।