काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । नेदरल्यान्ड्सले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको हो । योसँग नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे । शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।
यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।