काठमाडौं । नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । कुशल भुर्तेल आज खेल्दैछन् । अनिल शाह आजको खेलमा बाहिर छन् । नेपालले टोलीमा अन्य कुनै परिवर्तन गरेको छैन ।
आजको खेलमा कुशल भूर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरी खेल्नेछन्।
अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।
नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो।
हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो।
सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २/२ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया अन्तिममा छ।