पेनाल्टी सुटआउटमा चुक्दा नेपाल बाफको उपविजेतामै सिमित

पेनाल्टी सुटआउटमा चुक्दा नेपाल बाफको उपविजेतामै सिमित

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • पेनाल्टी सुटआउटमा चुक्दा नेपाल बाफको उपविजेतामै सिमित

    काठमाडौं । पेनाल्टी सुटआउटमा चुक्दा नेपाल बाफको उपविजेतामै सिमित भएको छ । पेनाल्टी सुटआउटमा नेपाललाई ५–३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपको उपाधि छैठौ पटक जितेको हो । 

    बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनटको खेल दुुई–दुुई गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो । जोर्डनका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले  पेनाल्टीमा गोल गरेका र्थिए ।

    नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गरेका थिए । नेपालकी अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाएकी थिइन् । निर्धारित समयको खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् ।

    पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४औँ मिनेटमा जोर्डनकी लाना फेरसले बराबरी गोल गरेकी थिइन । ८९औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन् । तर, इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई २–२ को बराबरीमा फर्काएकी थिइन् ।

    प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो । प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । साविक बिजेता समेत रहेको जोर्डनले योसहित छैटौँपटक प्रतियोगिताको उपाधि जितेको छ ।

    नेपाली महिला टिमले खेलेको यो ११औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन । नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij